रौतहट। रौतहटको सदरमुकाम गौरमा आगोलागि हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको हो।
गौर नगरपालिका–१ माईस्थान चौकस्थित इस्लाम कपडा–डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी भएको थियो। आगोलागि हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मो।इस्लाम मियाकी ९ वर्षीया रूक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीयको छोरा इमरान मन्सुरी छन्। अन्य तीनजना घाइते भएका छन्।
इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको छ। घाइतेहरूको गौर अस्प्तालमा उपचार भइरहेको छ।