काठमाडौं। मनकामना केवलकारको सहायक कम्पनी रिसोर्टस् बाई मनकामना केवलकार प्रालिले होटल निर्माण गर्ने भएको छ । मनकामना मन्दिरकै नजिक हुनेगरी कम्पनीले ४० कोठायुक्त सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण गर्न लागेको हो ।
२४ औं वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गरेको मनकामना केवलकारले एक विज्ञप्ति जारी गर्दै होटल निर्माणमा ४८ करोड अनुमानित लागत रहेको जनाएको छ । हालसम्म करिब १ करोड ७० लाखले मनकामना केवलकार चढेको पनि कम्पनीले जनाएको छ ।
केवलकारको प्रणालीलाई डी कनेक्ट डिजिटलमा रुपान्तरण गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ । वि.सं. २०५५ साल मंसिर ८ देखि संचालनमा आएको मनकामना केवलकार पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकका लागि गन्तव्य बन्दै आएको छ ।