काठमाडौं। गत आर्थिक वर्षको अवधिमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार आव २०७८/०७९ मा कुल ३०९ वटा उद्योग दर्ता भएकामा गण्डकी प्रदेशमा मात्र १०३ वटा दर्ता भएका हुन्।
सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १२ वटा उद्योग दर्ता भएका छन्।गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा ८४, बागमतीमा ३६ र कर्णाली प्रदेशमा ४१ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ। यस्तै मधेश प्रदेशमा १८ र प्रदेश १ मा कुल १५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।
एक वर्षमा ३०९ उद्योगमा ३४ अर्ब ३५ करोड लगानीमा लगानी प्रतिबद्धता आएको छ। आव २०७८/७९ मा २८ हजार ५२७ जनालाई रोजगारी सिर्जना गर्नेगरी उद्योग दर्ता भएका छन्। हालसम्म मुलुकभर उद्योगहरूको सङ्ख्या आठ हजार ७६४ पुगेको छ भने दर्ता उद्योगको कुल पुँजी दुई खर्ब ६२ अर्ब ७२ करोड रुपियाँ बराबरको हाराहारी पुगेको छ।