तस्बिर: कान्तिपुर
सल्यान। सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाड बजार नजिकै भेरी नदीको झोलुंगे पुल अझै मर्मत भएको छैन। अविरल वर्षासँगै आएको पहिरोका कारण भासिएको पुल अहिलेसम्म मर्मत हुन नसकेको हो।
पुल मर्मत नहुँदा बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते र कुरिल्लेका स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।
सम्बन्धित निकाय कसैले चासो नदेखाएको र पुलको विकल्प समेत नभएपछि स्थानीय त्यही पुलबाट वारपार गर्न बाध्य भएका हुन् । भासिएको झोलुंगे पुलबाट एक जनाभन्दा बढी मानिस वारपार गर्न मिल्दैन । पुल धेरै हल्लिने भएकाले अहिले बामेका चार गाउँका बासिन्दा स्वास्थ्यसेवा र विद्यार्थी पढाइबाट प्रभावित भएका छन । बामेका चार बस्तीका तीन सयभन्दा बढी परिवार छन् । अविरल वर्षात्का बेला असोज १८ गते पुल भासिएको थियो ।
बन्गाड कुपिण्डे नगरपालिका २ बामेका चार बस्तीवासी दैनिक उपभोग्य वस्तु किन्न जाजरकोटको शिवालय गाउँपालिकाको छेडाबजार आउजाउ गर्छन् । उक्त बजार भेरीपारि भएकाले उपभोग्य वस्तु किन्न र गाउँमा उत्पादित वस्तु बिक्री गर्नका लागि जोखिम मोलेर भए पनि नगई नहुने बाध्यता रहेको स्थानीय बताउँछन्।
झोलुंगे पुल नबन्दा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । स्थानीय उत्पादित वस्तु दूध, दहीलगायत सामग्री त्यत्तिकै खेर जान थालेको छ। बस्तीबाट नजिकै पर्ने छेडाबजारमा जान कठिनाइ भएपछि केही दिनअघि दुई गर्भवती जोखिम मोलेर घरमै सुत्केरी हुन परेको समेत स्थानीयको दुखेसो छ।
पहिरोले भासिएको पुलका बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आए पनि मर्मतका बारेमा कसैले चासो नदेखाएको स्थानीय बताउँछन्।