काठमाडौं। नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले निर्वाचनमा हारेपनि विकास निर्माणका काममा निरन्तर सहयोग गर्ने बताएका छन्। झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आयोजित कार्यक्रममा बोल्दै सिटौलाले आफ्नो क्षेत्रको विकास लगायतका काममा निरन्तर सहयोग गर्न आफूलाई हारले रोक्न नसक्ने बताएका हुन्।
लोकतान्त्रिक अभ्यासमा हार–जित स्वाभाविक भएको भन्दै उनले भने, ‘म संसद्मा नपुगे पनि यो क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माणलगायत काममा निरन्तर सहयोग गर्छु। विकास निर्माणलाई अगाडि बढाउन कांग्रेसलाई कसैले रोक्न सक्दैन ।’
आफ्नो अगुवाइमा आएका विकास निर्माण आयोजनालाई सफल पार्न आफू यही क्षेत्रमा रहेर निरन्तर लागि रहने नेता सिटौलाको भनाइ छ ।
कार्यक्रममा क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भूमिप्रसाद राजवंशीले संघीय संसद्मा कृष्णप्रसाद सिटौला पुग्न नसके पनि उनको सद्भावले यस क्षेत्रको उन्नतिमा निरन्तर लाग्ने वचन दिँदै मतदाताप्रति आभार प्रकट गरे ।