काठमाडौं। टुँडिखेलमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिट निर्माण नगर्न माग गर्दै अकुपाई टुँडिखेलले काठमाडौं महानगर वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। अकुपाई टुँडिखेल अभियानले आइतबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय फिर्ता गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।
उनीहरुले खुलामञ्चलाई पहिलाको जस्तै घाँसेमैदान बनाउने भनेर विभिन्न चरणमा छलफल भइरहेको अवस्थामा अचानक पार्किङ बनाउने निर्णय भएको कुरा आउँदा आफूहरु अचम्मित परेको बताएका छन्।
पत्रमा लेखिएको छ, ‘खुलामञ्च सफा देखेर हर्षित हुँदै यहाँहरूबाट धेरै अपेक्षा राखेका थियौँ । निर्वाचनपछि भेट्न आउने तयारी पनि गरिरहेका थियौँ । तर, एकाएक कार्यपालिका बैठकले तीन तहको भूमिगत पार्किङ निर्माण गर्न डिपिआर तयार गर्ने निर्णय भएको र यहाँहरूजस्तो संवेदनशील जनप्रतिनिधिसमेत मौन बस्नुभएको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएकोमा अचम्मित भएका छौँ ।
यस विषयमा अभियानको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँछौँ ।’
२९ कात्तिकमा बसेको महानगरको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिट निर्माणबारे विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । महानगरका अनुसार अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न खुलामञ्चमा पार्किङस्थल निर्माण गर्न डिपिआर बनाउने निर्णय भएको हो ।
महानगरपालिकाले ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिट डिपिआर बनाउने निर्णयविरुद्ध अकुपाई टुँडिखेल अभियानले फेरि आवाज उठाएको हो । टुँडिखेललाई अतिक्रणमुक्त बनाऊ भन्दै सम्पदा अभियन्तालगायत विभिन्न पेसा–व्यवसायमा आबद्ध समर्थकहरूले २३ कात्तिक ०७६ मा अभियान सुरु गरेका थिए ।