काठमाडौं। काठमाडौंको कमलादीमा निर्माणाधीन स्काईवाक टावरमा व्यापार गर्न भाडाका लागि बुकिङ खुला गरिएको छ। टावरको २४ र २५ तलामा व्यापार गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला गरिएको हो।
भाडामा दिनका लागि नै भुईँ तलामा पनि ४९ वटा सटरहरू बन्दै छन्। यहाँ सटरको आकार अनुसार मासिक ४० देखि ५० हजारसम्ममा भाडामा लगाउने टावर निर्माण गर्ने वन्डर्स नेपाल प्रालि कम्पनीले जनाएको छ।
कम्पनीले यो टावरको निर्माण पूर्ण रुपमा सम्पन्न गर्दा २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म यहाँ करिब एक अर्ब ८० करोड रुपैयाँ खर्च भइसकेको छ ।
स्काईवाक अर्थात् ‘आकाशमा पदयात्रा’ बाट काठमाडौंको दृश्यलाई निहाल्न सकिन्छ । भुईँबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने ठाउँ हो । उक्त टावरमा हिँड्दा आकाशमा हिँडेको अनुभूति हुने कम्पनीले जनाएको छ।
निर्माणाधीन स्काईवाक टावर सञ्चालनमा आइ सकेको छैन । निर्माण कम्पनी केही महिनामा उक्त टावर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सञ्चालनमा आए पछि सो टावर चढ्नको लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ। विदेशी पर्यटकको लागि यो शुल्क अझ बढी हुने कम्पनीको भनाइ छ।