काठमाडौं। सडक डिभिजन कार्यालय धनकुटाले १०७ निर्माण कम्पनी जेभीलाई धरौटी रकम फिर्ता लिन निर्देशन दिएको छ। आज (सोमबार) सूचना जारी गर्दै धरौटी रकम फिर्ता लिन निर्देशन दिएको हो।
आर्थिक कार्यबिधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६६ मा धरौटी रकम फिर्ता लिने।दिने व्यवस्था छ। उक्त नियम ६६ बमोजिम फिर्ता नभई यस डिभिजन कार्यालयमा रहेको प्रयोजन समाप्त भइसकेका पुराना निर्माण व्यवसायीहरुको धरौटी रकम आर्थिक कार्यबिधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ६७ (१) बमोजिम राजस्व दाखिला गर्नुपर्ने कार्यालयले सूचनामा उल्लेख गरेको छ।
यो सूचना प्रकाशन भएको मितिबाट १५ दिनभित्रमा फिर्ता लिन आउन सबै निर्माण व्यवसायीहरुलाई कार्यालयले अनुरोध गरेको छ। अन्यथा, उक्त धरौटी रकम राजस्व खातामा दाखिला गरिने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ।
