सिन्धुपाल्चोक। कोरोना भाइरसको महामारीसँगै सुस्ताएको भोटेकोसीमा अहिले पर्यटकको भीड लाग्न थालेको छ। भोटेकोसीमा यतिबेला आन्तरिकका साथै बाह्य पर्यटकको समेत बाक्लो उपस्थिति देख्न सकिन्छ।
विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेसँगै पर्यटन व्यवसायीमा पनि केही उत्साह थपिएको छ। पर्यटक व्यवसायीहरुका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् ।
विभिन्न मुलुकमा अध्ययन तथा कामको शिलशिलामा पुगेका नेपालीहरु पनि नेपाल आएका समयमा मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको देखिएको छ। भोटेकोसीमा बन्जी गर्न आउनेमा भारतीय पर्यटक पनि उत्तिकै छन्।
द्रुतगतिमा बग्ने भोटेकोसी नदीको एक सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा निकै आनन्दको अनुभूति भएको एक भारतीय पर्यटकले सुनाए।
हाइकिङ र र्यफ्टिङका लागि पनि उत्कृष्ट यो ठाउँबाट दैनिक सरदर ३० जनासम्म पर्यटकले जम्प गर्ने गरेका छन् । पर्यटकको सङ्ख्यामा सुधार आएसँगै होटल तथा रिसोर्टहरू पनि पुरानै लयमा फर्कन थालेको होटल व्यवसायीहरू बताउँछन् ।