काठमाडौं। नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतिस्पर्धामार्फत एक सय मेगावाटको सोलार ऊर्जाका लागि प्रस्ताव आह्वान गरेको छ। हाल प्रति युनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गर्दै आएको विद्युत प्राधिकरणले प्रति युनिट ५.९४ रुपैयाँ दर अधिकतम रकममा कबोल गर्ने गरी प्रस्ताव आह्वान गरेको हो ।
यसअघि पनि प्राधिकरणले २०७३ सालको जेठमा अधिकत्तम प्रति युनिट ९.६१ पीपीए दर हुने गरी खुल्ला प्रतिस्पर्धामार्फत सोलारका लागि टेण्डर आह्वान गरेको थियो । ६१ मेगावाट बराबरका आयोजनाले आवेदन दिएकोमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले २०७४ माघ २५ मा स्वीकृत गरेको ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४ ले प्रति युनिट ७.३० रुपैयाँ कायम गरेपछि त्यो प्रकृया रद्ध भएको थियो भने आवेदन दिएकामध्ये केही आयोजनाले नयाँ पीपीए दरकै आधारमा सोलार आयोजना निर्माण गरेका थिए ।
दोस्रो पटक टेण्डर आह्वान गर्दा पहिलोपटक आह्वान गरेको भन्दा पीपीए दर प्रति युनिट ३.६७ रुपैयाँ कम छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खुल्ला प्रतिष्पर्धामार्फत ५.९४ रुपैयाँ अधिकत्तम पीपीए दर तोकेर टेण्डर आह्वान गरिएको जानकारी दिए ।
९० दिनभित्र आवेदन हाल्ने गरी यो प्रस्ताव आह्वान गरिएको प्राधिकरणले जनाएको छ । हिउँदमा विद्युत आयात गर्नुपर्ने अवस्थामा रहेको विद्युत प्राधिकरणले हिउँदमै उत्पादन योगदान दिने गरी यो टेण्डर आह्वान गर्नुपर्नेमा ढिलो हुँदा विकासकर्ताले प्रतिस्पर्धामा भाग लिएमा पनि हिउँदभित्रै आउने सम्भावना भने कम छ ।
प्राधिकरणले २०७५ असार २६ को ७७३ औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको प्रति युनिट ७.३० रुपैयाँको पीपीए दर तीन वर्षका लागि कायम गर्ने उल्लेख भएपनि बल्ल ५.९४ रुपैयाँ पीपीए तोकेर आह्वान गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यही आधारमा अब सोलारको पीपीए अघि बढ्ने बताए ।