सिन्धुपाल्चोक। खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान पुगेका छन् । उनले पानीको मुहान अवलोकन गरेका छन् ।
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हालिएको र पानी सुरुङमा हालेको १० देखि १२ दिनमा काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिए ।
मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाएको बताए।
उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने जानकारी दिए । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए ।
उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे । निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।