एजेन्सी। फिफा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्दा ४ सयदेखि ५ सयसम्म विदेशी श्रमिकको मृत्यु भएको आयोजक राष्ट्र कतारले स्वीकार गरेको छ।
कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रिका ‘बिजनेस स्ट्यान्डर्ड’मा अन्तर्वार्ता दिँदै ४ देखि ५ सय विदेशी श्रमिकले रंगशाला निर्माणका क्रममा ज्यान गुमाएको स्वीकार गरेका हुन्।
विश्वकपका लागि कतारले आठवटा रंगशाला निर्माण गरेको थियो । रंगशाला तथा यससँग जोडिएका निर्माणमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका गरी पाँचवटा दक्षिण एसियाली देशका गरी ६ हजार ५ सयभन्दा धेरै श्रमिकले ज्यान गुमाएको तथ्याङ्क विभिन्न संघसंस्थाले सार्वजनिक गरेका थिए । तर कतारले भने यसअघिसम्म मृतकको संख्या ३७ देखि ४० सम्म रहेको बताउँदै आएको थियो।
विश्वकप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारले १२ वर्षअघि विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो । यसलाई अहिलेसम्मकै महँगो विश्वकप पनि मानिन्छ किनभने यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ ।