काठमाडौं। माउन्टेन इनर्जी नेपाल कम्पनीले १२ मेगावाटको मिस्ट्री खोला–२ जलविद्युत आयोजना निर्माण गर्न शुरु गरेको छ।म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएपछि कम्पनीले मिस्ट्री खोला–२ निर्माण गर्न लागेको हो।
आयोजनाको अध्ययन पूरा भइसकेको छ । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पनि स्वीकृत भइसकेको छ । कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई आयोजनाको उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना सार्वजनिक गरेको छ ।
विभागले उत्पादन अनुमतिपत्र दिनुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने अवस्था रहेमा त्यसबारे लिखित रायरसुझाव पेश गर्न सम्बन्धित सरोकारवालामा आग्रह गरेको छ ।
सरोकारवालाबाट आउने लिखित रायरसुझावको अध्ययनपछि आयोजनाको उत्पादन अनुमतिपत्र जारी गर्ने प्रक्रिया पूरा हुने विभागले जनाएको छ । नदीको बहावमा आधारित यो आयोजनामा मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निकास हुने पानीको उपयोग गरी विद्युत उत्पादन गरिनेछ । आयोजनामा घट्टे खोलाको पानी पनि मिसाइनेछ ।
आयोजनाको नेट हेड ७७.४३ मेगावाट रहने गरी डिजाइन गरिएको छ । २०८२ सालभित्र आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएपछि संरचना निर्माणको काम सुरु गरिने प्रवद्र्धक कम्पनीले जनाएको छ ।