फाइल तस्बिर
काठमाडौं। माथिल्लो कालंगा गाड जलविद्युत आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गर्ने काम पूरा भएको छ। बजाङको कालंगा बेसिनमा निर्माण सम्पन्न ३८.४६ मेगावाटको जलविद्युत आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सकिएको हो।
कालंगा हाइड्रो इनर्जी कम्पनीले ८.५ किलोमिटर लामो हेडरेस सुरुङको परीक्षण पूरा गरेको हो ।अहिले १२५० मिटर लामो पेनस्टकको परीक्षण भइरहेको कम्पनीले जनाएको छ।
यही बेसीनमा कालंगा हाइड्रो इनर्जी कम्पनीले १५.३३ मेगावाटको कालंगा गाड र बुंगल हाइड्रो कम्पनीले १०.७० मेगावाटको सानीगाड आयोजना अघि बढाएका छन् । अहिले कालंगा गाडको निर्माण पूरा भई परीक्षण समेत सकिए पनि प्रसारण लाइन तयार नहुँदा विद्युत जोडिन पाएको छैन् ।
सानिगाडको अन्तिम चरणको काम भइरहेकोले आगामी माघचित्र पूरा गर्ने कम्पनीको योजना छ । यो आयोजनाको सुरुङ खन्ने र विद्युतगृहको काम पूरा भएको तथा पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ ।
जलविद्युत आयोजनाको काम सकिए पनि प्रसारण लाइन निर्माणमा केही ढिला हुने हुँदा विद्युत उत्पादन तालिका लम्बिएको कम्पनीले जनाएको छ । उत्पादित विद्युत विद्युतगृहबाट करिब ३९ किलोमिटर ढाटा नेपाल विद्युत प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा निर्मित बलाँच सबस्टेसनमा जोडिने छ ।