काठमाडौं। फूकोट–बेतान–दोधारा प्रसारण लाइन बनाउन तीन वटा कम्पनीले प्रस्ताव पेस गरेका छन्। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पश्चिममा अघि बढाउनका लागेको ४०० केभी डबल सर्किट क्षमताको प्रसारण लाइन बनाउन चीन र भारतका गरि तीन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका हुन् ।
लाइन निर्माण गर्न एक चाइनिज र दुई भारतीय कम्पनीले प्रस्ताव पेस गरेका छन्। चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी कम्पनी लिमिटेड, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड भारत र ट्रान्सरेल लाइटिङ लिमिटेड भारतले प्रस्ताव पेस गरेको कम्पनीले जनाएको छ।
उक्त प्रसारण लाइनका लागि आगामी मंसिर २३ गते आर्थिक प्रस्ताव खोलिने छ । त्यसमध्य सारभूत रुपमा प्रभावग्राही न्यूनतम मूल्यअंकित बोलपत्रदाताले सो प्रसारण लाइन बनाउने जिम्मेवारी पाउनेछ ।
प्रस्तावित प्रसारण लाइनबाट न्यूनतम २५०० देखि २६४७ मेगावाटसम्म बिजुली प्रवाह हुनेछ । यो नेपालमा बन्न लागेको हालसम्मकै सबैभन्दा ठूलो प्रसारण लाइन हो । यो लाइन पहिलो खण्ड फुकोट–बेतन र दोस्रो खण्ड बेतन–दोदोधारा निर्माण हुनेछ ।
२५०० मेगावाट बिजुली प्रवाह हुने फुकोटदेखि बेतनसम्म ४०० केभी डबल सर्किट लाइन कालिकोटको खाँडाचक्र गाउँपालिमा रहने फुकोट सबस्टेसनदेखि सुर्खेतको चौकुना गाउँपालिकामा रहने बेतन सबस्टेसनसम्म ५५ किलोमिटर लामो निर्माण हुनेछ । १९४ वटा स्टिल टावर रहने लाइनको काम २०८३ मंसिरसम्म सक्ने लक्ष्य छ ।