म्याग्दी। म्याग्दीको अन्नपूर्ण गापा–८ काफलडाँडास्थित करबाकेली इको ट्रेकमा मगर समुदायमा लोपोन्मुख सामग्रीको सङ्ग्रहालय स्थापना गरिएको छ। लोप हुन लागेको पुन समुदायको कला संस्कृतिको संरक्षणका साथै पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरिएको हो।
पुन समुदायको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न स्थापना गरिएको सङ्ग्रहालयको मंगलबार सगरमाथा आरोही तथा नायिका दिया पुनले उद्घाटन गरेकी छिन्।
सङ्ग्रहालय उद्घाटन गर्दै पुनले पुर्खाहरूले दैनिक जीवनयापनका लागि प्रयोग गरेका सामग्री, उनीहरूको कला संस्कृति नयाँ पुस्ताका लागि खोज अनुसन्धान गर्न सङ्ग्रहालयले सहयोग पुग्ने बताइन्।
नयाँ पुस्ताका लागि अध्ययनको थलो भन्ने उनले विश्वास व्यक्त गरिन्। सङ्ग्रहालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले सङ्ग्रहालयले पुर्खाको पहिचानको संरक्षणमा टेवा पुगेको बताए।