फाइल तस्बिर
महेन्द्रनगर। महाकाली सिँचाइ आयोजनामा तेस्रो चरण अन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि अझै पानी आउन सकेको छैन। नियमित गर्ने विषय अझै टुङ्गोमा नपुग्दा आयोजनाको मूल नहरमा नियमित पानी ल्याउने कामको टुंगो लाग्न नसकेको हो।
पहिलो पटक गत असार १५ मा भारतीय पक्षले मूल नहरमा परीक्षणका लागि पानी छोडेको थियो । परीक्षण सकिएपछि पनि मूल नहरमा नियमित पानी ल्याउन नसकिएको महाकाली सिँचाइ आयोजनाले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूल नहर बनिसकेको छ । मूल नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग अहिलेसम्म कुराकानी भएको छैन।
२०६४ देखि सुरु भएको आयोजनाको २०७५ मा आइपुग्दा १२ किलोमिटर मूल नहर मात्रै निर्माण भएको थियो । पछिल्लो समय आयोजनाको कामले गति लिएको छ। १ सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्म २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ।
हाल ३ प्याकेजमा निर्माण भइरहेको मूल नहरको पहिलो साढे ५ किलोमिटर मूल नहरको काम सकिएको छ । दोस्रो खण्डको ५ किलोमिटरको पनि करिब ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
त्यसैगरी, तेस्रो खण्डको पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि एक अर्ब २४ करोड रुपैयाँ रकम विनियोजित छ ।