काठमाडौं। डेढ महिनाको अवधिमा देशभरका १० वटा नयाँ पहिचान भएका जलविद्युत आयोजनाको अध्ययन पूरा भएको छ। निजी तथा सरकारी निकायले पहिचान गरेका ५२५.५ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइएको हो।
विभागका अनुसार कात्तिकमा ३२५.३१ मेगावाटका ५ र मंसिरमा २००.१९ मेगावाटका ५ गरी जम्मा १० जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । सरकारी तथा निजी ऊर्जा उत्पादकले अध्ययन पुरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।
आवेदन दिएकामध्ये सबैभन्दा ठुलो १ सय ५९ मेगावाटको मुग कर्णाली जलविद्युत आयोजना रहेको छ ।
यस्तै १ सय ५० मेगावाटको बेग्नास–रुपा स्टोरेज जलविद्युत आयोजना, सुर्य इनर्जी प्रालिले अध्ययन पुरा गरेको ९१.१५० मेगावाटको बुढी गण्डकी नदी र किरन पावर कम्पनी लिमिटेडले अध्ययन पुरा गरेको ९.८ मेगावाटको निमरुङ खोलाले आवेदन दिएका छन्।
लालुपाते हाइड्रो पावर कम्पनीले ४९.९५० मेगावाटको धन खोला, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले २४.४१० मेगावाटको सुपर इन्खु खोला जलविद्युत आयोजना निर्माण अघि बढाउन आवेदन दिएका छन् ।
यस्तै, २४.२२० मेगावाटको माथिल्लो इन्खु खोला जलविद्युत आयोजना, ७.२५० मेगावाटको श्याम खोला आयोजना श्याम खोला डेभलपमेन्ट कम्पनी लिमिटेडले र ४.६ मेगावाटको माछा खोलाको बुढीगण्डकी हाइड्रो पावरले निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङमा उल्लेख छ ।