खोटाङ। खोटाङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान गरिएको छ। उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश–१ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको १० लाख रुपैयाँ लागतमा मन्दिर परिसर क्षेत्रमा २६ वटा सौर्यबत्ती जडान गरिएको हो ।
बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको बताइएको छ। महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ ।
सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने व्यवस्था गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु एक करोडमा एक सय २६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।