काठमाडौं। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित सवान खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्धघाटन गरिएको छ। नगरपालिकाको पहलमा सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभागको भ्याट सहित १ करोड ३२ लाखको लागतमा बनेको झोलुङ्गे पुलको मेयर नाम्गेल जाङ्बु शेर्पा र टाक्सिन्दुका वडाध्यक्ष छोङ्वाले उद्घाटन गरेका हुन्।
सो पुलले सत, यापेल र फुलेलीलाई जोड्नेछ। पुल निर्माणसँगै नगरको बिकासले फड्को मारेको मेयरले बताएका छन्। झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सहजता हुने बताउँदै आफ्नो नेतृत्वले नगरको दिगो विकासलाई प्राथमिकता दिएको उनले दाबी गरेका छन्। आफू निर्वाचित भएपछि दर्जनौं स्थानमा झोलुङ्गे र मोटरेबल पुल बनाएको उनले बताएका छन्। त्यस्तै उनले टाक्सिन्दुसम्म आइपुग्ने सडक स्तरोन्नति सगै कालोपत्रे एडिबीको सहकार्यमा काम अघि बड्ने साथै टाक्सिन्दु र जुभिङ जोड्ने मोटरेबल पुलको निर्माण कार्य पनि छिट्टै सुरु हुने जानकारी दिएका छन्।
त्यस्तै टाक्सिन्दुमा नेपाल टेलिकमको फोर जि सहितको सेवा विस्तार पनि विस्तार भएको छ। वडाको बिकासमा उल्लेखनीय काम भएको भन्दै आगामी दिनमा गुणस्तरीय कामलाई प्राथमिकता दिने मेयर शेर्पाको भनाई रहेको छ। वडा सदस्य उत्रमान राइले ठूलो संघर्षका साथ उक्त झोलुंगे पुल निर्माण गरिएको जानकारी गराएका छन्।