दमक। झापाको हल्दीबारी गाउँपालिकालाई काठको पुलमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको छ। पाँच वर्षअघि स्थानीय सरकारले गाउँपालिकालाई काठको पुलमुक्त बनाउने घोषणा गर्दै काम अघि बढाएको थियो। पालिकाभित्र परम्परागत काठको पुल विस्थापित गर्ने अभियानलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा ल्याइएको थियो।
गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्थानीय बजेटले सम्भव भएका पुलहरू स्थानीय सरकार र बाँकी पुलहरू प्रदेश तथा सङ्घीय सरकारको बजेटबाट नै बनाइएको छ। अबको तीन वर्षभित्रमा पालिकाभित्र पूर्ण रूपमा काठको पुल विस्थापित हुने उनले बताए।
तीनवटा पुल निर्माण बाँकी रहेकोमा केही दिनअघि यसको शिलान्यास भएर काम अघि बढिसकेको छ। यो निर्माण सम्पन्न भएपछि काठको पुल विस्थापित गाउँपालिका घोषणा हुने उनको भनाइ छ। राप्रपा अध्यक्षसमेत रहेका झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले तीनवटा पुलको शिलान्यास गरेको थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार पालिकामा जम्मा काठे तथा कच्ची पुल ३३ वटा थिए। ती पुल विस्थापित गरेर पक्की बनाइसकिएको छ। ३४ वटा नयाँ स्थानमा पुल बनेका छन्। तीनवटा बाँकी रहेका काठेपुलको निर्माणको काम सुरु भइसकेको छ।
पालिकामा ४३ वटा पुल ठेक्का प्रक्रियाबाट बनेका छन्। १९ वटा उपभोक्ता तथा साझेदारीमा पुल बनेको पनि श्रेष्ठले जानकारी दिए। यसरी ६२ वटा पुल बनिसकेको उनले जानकारी दिएका छन्। पाँचवटा पुल अहिले पनि निर्माणाधीन अवस्थामा नै छन्। तीन ठाउँमा झोलुङ्गे तथा ‘ट्रस्ट ब्रिज’ बनेका छन्। करिब छ वर्षको अवधिमा काठको पुल विस्थापित गरेर पक्की पुल बनाउन साढे पाँच करोड रुपियाँ खर्च भएको छ। काठको पुल हुँदा वर्षाको समयमा बाढीले बगाउने जोखिमले स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो। गोरखापत्रबाट