पर्वत। चौधरी ग्रुपले निर्माण गरेको १८ मेगावाटको मध्यमोदी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। पर्वतको मोदी खोलामा निर्माण सम्पन्न आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर परीक्षण गरेपछि आयोजनाको विद्युत सोमबारबाट प्रसारण प्रणालीमा जोडिएको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले जानकारी दिएको छ । निर्माण सुरु भएको ८ वर्षपछि आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्न सम्भव भएको हो ।
कम्पनीले २०७१ साल मंसिरबाट आयोजनाको संरचना बनाउन सुरु गरेको थियो । विविध कारणले आयोजनाको निर्माण प्रभावित हुँदा सम्पन्न हुन ८ वर्ष लागेको आयोजनाले जनाएको छ।
निर्माण थालेको ३ वर्षमा नै काम पूरा गर्ने तालिका तोकिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीलगायत कारणले लक्ष्यभन्दा ५ वर्ष ढिलो गरी विद्युत उत्पादन सुरु गरिएको बताइएको छ । आयोजनाले उत्पादन गरेको विद्युत १३२ केभी मोदी(लेखनाथ सबस्टेसनमा जोडिएको छ ।
करिब २ साताको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँध, सुरुङ, विद्युतगृह तथा सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि संरचनाको परीक्षण गरिएको थियो । संरचनाको परीक्षण सफल भएपछि नै उत्पादन सुरु भएको हो ।
आयोजना सम्पन्न हुँदा ४ अर्ब रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।