काठमाडौं। म्याग्दीमा ग्रामीण बस्तीलाई लक्षित गरेर नदी तथा खोलामा पक्की मोटरेबल पुल निर्माण भएका छन् । बाह्रै महिना सहज यातायात सुविधा उपलब्ध गराउन कालिगण्डकी, म्याग्दी र रघुगंगा नदी तथा सहायक खोलामा पक्की पुल निर्माण अघि बढेका हुन्।
ग्रामीण बस्ती र स्थानीय तहहरूको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले मोटरेबल पुल निर्माण कार्य धमाधम गरिरहेको छ।
मंगला गाउँपालिकाको बरङ्जा र अर्मनका तीनवटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा निर्माणाधीन दुई मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । मंगला गाउँपालिकाको केन्द्र बाबियाँचौरस्थित माटेबगरदेखि वडा नम्बर ५ अर्मन जोड्ने पुलको ८० को पुल निर्माण सम्पन्न गरेको छ भने ११७ मि. लम्बाइको बेनी नगरपालिका–४ सिंगाफापरखेतदेखि मंगाला गाउँपालिका–३ पखेर जोड्ने पुलको दायाँबायाँ पुहँचमार्ग बनाउने काम बाँकी रहेको छ । दुईवटै पुल निर्माण गर्ने लुम्बिनी–प्राकृतिक जेभी निर्माण कम्पनीले २२ करोडमा रुपैयाँमा २०७५ सालमा ठेक्का लिएको थियो ।
सडक विभागले मंगला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा–५ अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ । कोरोना र विभिन्न कारणले दुई वर्ष ढिला गरी ८० मिटर लामो पुलको सम्पन्न गरेको हो । त्यस्तै ११७ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको बेनी नगरपालिका–४ सिंगाफापरखेत र मंगला दायाँबायाँको पहुँचमार्ग निर्माण काममात्र बाँकी राखेको छ । तत्काल दायाँबायाँको पहुँचमार्गको काम सकेर दुईवटै पुल हस्तान्तरण योजनामा निर्माण कम्पनी रहेको छ ।
फापरखेत–पखरे जोड्ने पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिनेछन् । बरंजा र अर्मनमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म पुर्याउन र स्थानीयवासी आवतजावत गर्न सहयोग पुग्ने मंगला गाउँपालिकाले जनाएको छ।