काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको समय पछाडि सारिएको छ। धावनमार्गको कामका लागि स्पेनिस कम्पनी सान्जोसेको निर्माण सामाग्री हटाउन नसक्दा मर्मतको समय सारिएको हो।
विमानस्थल मर्मतको काम पछि सारिएसँगै नेपाल वायुसेवा निगमलाई उडान व्यवस्थापन सहज भएको छ।काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडानलाई भैरहवाबाट गराउने योजना हालका लागि स्थगित हुँदा राहत भएको हो।
डिसेम्बरबाटै मर्मत सम्भार गर्ने भनिएको थियो । धावनमार्ग मर्मतको पूर्वनिर्धारित योजना पछाडि सरेसँगै प्राधिकरणले अक्टोबरबाट लागू हुने गरी कटौती भएको नेपाली वायुसेवा कम्पनीको नियमित उडान तालिका फुकुवा गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नेपाल वायुसेवा निगमको १४ वटा उडान कटौतीमा परेका थिए। डिसेम्बर १९ बाट लागु हुनेगरी फुकुवा गरिएको थियो।
दुई पटकसम्म टेन्डर गर्दा पनि सामान पन्छाउन कुनै पनि कम्पनीले चासो नदेखाएपछि पुनः टेन्डर प्रक्रिया सुरु गर्न लागिएको छ।
मर्मत सम्भारका लागि प्राधिकरणले राती १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरिने जनाएको छ। उडान भैरहवाबाट गर्न नेवानिलाई व्यवस्थापन गाह्रो भइरहेको थियो। टीआइए धावनमार्ग मर्मतको समय पछि सर्दा केही समय काठमाडौंबाट भइरहेका उडान नियमित गर्न सहज भएको छ।