काठमाडौं। छेडा–थलह–सानाखोला–चाँदे–जुम्ला सडक पश्चिम जाजरकोटको लाइफलाइन अर्थात् महत्वपूर्ण आयोजना हो । यो सडक खण्ड हरेक निर्वाचनमा दलहरुको चुनावी मुद्दा बन्छ । ‘तपाईं भोट दिनोस्, म सडक बनाउँछु’ भन्दै उम्मेदवारले भोट माग्छन् । यो सडक निर्माण तथा स्तरोन्नति भए पश्चिम जाजरकोटमा पर्ने जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकाका नागरिक आउजाउमा सहज हुन्छ ।
यो सडक छेडादेखि जुम्ला जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो । तर वर्षौं बित्दा पनि यो सडक खण्डको ३० किलोमिटर ट्रयाक खोल्न अझै बाँकी छ । यो सडक निर्माणको ठेक्का अमर सिस्ने जेभीले लिएको हो । यो कम्पनीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर निर्माण गर्ने ठेक्का पाएको छ । ५ वर्षभित्र ३० किलोमिटर सडक निर्माण गरिसक्ने जिम्मा लिएको ठेकेदार कम्पनीले वर्षदिनमा १ सय ५० मिटरमात्रै ट्रयाक खनेको छ ।
कम्पनीले मोबिलाइजेसन रकम लिएपछि काम सुरु गरेको देखाउनमात्र यो ट्रयाक खोलेको हो । कम्पनीले कुल ठेक्काको १० प्रतिशत अर्थात् १ करोड ३५ लाख रकम लिइसकेको छ । ठेकेदारले मोबिलाइजेसन पेश्कीबापत १ करोड ३५ लाख रकम लिइसकेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले बताए । वर्षदिन लगाएर १५० मिटर मात्रै ट्रयाक खोलेको प्रमुख यादवले जानकारी दिए ।
५ वर्षभित्र ३० किलोमिटर सडक बनाइसक्ने जिम्मा लिएको ठेकेदारले वर्ष दिनसम्म ०.१ प्रतिशतमात्रै काम गरेको छ । ११ महिनासम्म काम नै नगरेर कम्पनीले असारमा उक्त सडक खनेको हो । एक वर्षको अवधिमा १५० मिटरमात्रै सडक बनाएपछि तोकिएकै समयमा सडक निर्माणमा आशंका छ । स्थानीय र प्रदेश सरकारले दबाब नदिँदा ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयको गुनासो छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयले भने काम गर्न ठेकेदारलाई पटक–पटक अनुरोध गर्दासमेत अटेरी गरेको जनाएको छ । कारोबार दैनिकबाट