म्याग्दी। म्याग्दीमा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा जग नाप्न पुगेका बरुवालको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो।
अन्दाजी ४५ वर्षीय बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्नपूर्ण गाउँपालिका–६ घारनिवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लागेका थिए। डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल पुरिएको प्रहरीले जनाएको छ।
पुरिएको एक घण्टापछि प्रहरी र स्थानीयले डोजरको सहायताले उद्धार गरी बेनी अस्पताल लगेका थिए। अस्पताल पुर्याएलगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनी निर्माण व्यवसायी संघ म्याग्दीका कार्यसमिति सदस्य थिए।