काठमाडौं। काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्।
पौडेलले प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बुधबार भेटेर काठमाडौं क्षेत्र नम्बर ५ सहित काठमाडौं उपत्यकाभित्र रहेका बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्।
चुनावका बेला घरदैलोमा पुग्दा बिजुलीका नाङ्गा तारले समस्या निम्त्याएको जनगुनासो सुनेको पौडेलले बताएका थिए भने समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
पौडेलले भने, ‘सडकमा रहेका पोललाई छिटो व्यवस्थापन गरेर बिजुलीका तार भूमिगत गर्नुपर्छ। ‘बिजुलीका नाङ्गा तारलाई छिटो हटाउनुपर्यो।’
घरको धुरीबाट बिजुलीको नाङ्गो तार गएकोले बालबालिकाले छुनसक्ने भन्दै पौडेलसँग काठमाडौं ५ का स्थानीयले त्यस्ता नाङ्गो तार व्यवस्थापन गरिदिन माग गरेका थिए।
प्राधिकरणका प्रमुख घिसिङले कतिपय ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम भइरहेको बताएका छन्। भित्री सडकहरूमा बाटो र ढलका कारण काम गर्न असजिलो भइरहेको उनको भनाइ छ।