काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अब कुनै पनि नेपालीले आधुनिक उर्जाको पहुँचबाट वञ्चित हुनुनपर्ने बताइन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने ठाउँमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनुनपर्ने धारणा राखेकि हुन् ।
उनले आउँदो दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको समेत जानकारी दिएकी छन् ।
स्वदेशी विद्युत् खपत बढाउन, आयातित इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घाटा न्यून गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उनले बताइन् । सिँचाइको अभावमा जमिन बाँझो राख्न नपरोस् भनेर सिँचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आउँदा दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको मन्त्री भुसालले जानकारी दिइन् । मन्त्री भुसालले यसबाट देशलाई खाद्यान्नमा आत्मनिर्भर गर्न सकिने विश्वास समेत व्यक्त गरेकी छन् ।