सुर्खेत। मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटकोट मन्टाभिरमा स्टमेट अनुसार काम नभएपछि भुक्तानी रोकिएको छ । मन्टाभिरको काम स्टिमेटअनुसार नभएपछि आयोजनाले निर्माण व्यवसायीलाई भुक्तानी दिएको छैन ।
‘ठेकेदारले सम्झौतामा उल्लेख भएको स्टामेट अनुसार काम गरेन्’, मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय दैलेखका प्रमुख युवराज पोख्रेलले भने, ‘स्टिमेटअनुसार काम नहुँदासम्म भुक्तानी दिन मिल्दैन।’ अब स्टिमेटअनुसार काम नगर्दासम्म भुक्तानी नदिने बरू ठेक्का नै तोड्न सक्ने कार्यालयको भनाइ छ ।
ठेकेदार कम्पनीले भने स्टिमेटअनुसार काम गरिरहेको दाबी गरेको छ । रकम भुक्तानी नभएपछि हालः सडकको सो क्षेत्रमा बाँकी काम रोकिएको छ । लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा पर्ने कुल ८३ किलोमिटरमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ । जसमध्ये मन्टाभिरमा मात्रै ट्रयाक खोल्न बाँकी छ ।
ट्रयाक खुल्न बाँकी रहेको मन्टाभिरसहित ३३ किलोमिटर खण्डमा कालोपत्रे हुन बाँकी छ । कुल खण्डमध्ये ५४ किलोमिटर सडक निर्माणको जिम्मा सिंह एन्ड ब्रदर्स कम्पनीले लिएको छ ।
कुल ५५ करोड ६३ लाख ३ हजार ४७६ रुपैयाँमा ४ माघमा २०७८ सम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर कोरोना महामारी कारण आयोजनाको म्याद थप गरेर २६ असार २०८० सम्म म्याद थप गरेको हो ।
तर भुक्तानी नभएकै कारण बाँकी खण्डको काम रोकिएको निर्माण व्यवसायीले बताए। मापदण्डअनुसार काम भएका क्षेत्रको कुल ४५ करोड ४६ लाख नौ हजार १५७ रुपैयाँ आयोजनाले ठेकेदारलाई भुक्तानी दिइसकेको छ ।