काभ्रे । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको विद्युत महसुल सकभर निःशुल्क बनाउने बताएका छन्। उज्यालो नेपालको सातौं वार्षिक साधारणसभालाई शुक्रबार काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै मन्त्री चौधरीले ‘खानेपानीको विद्युत महसुल सकभर निःशुल्क बनाउने नभएपनि अहिलेको भन्दा कम गर्ने बताएका हुन्।
उनले भने, “खानेपानीको विद्युत महसुल सकभर निःशुल्क, त्यो सम्भव नभएपनि अहिलेको भन्दा कम गर्ने मन्त्रालको योजना छ। खानेपानीको विद्युत महसुल सिँचाइको भन्दा कम बनाउन प्रयास गरिरहेको छु ।”
उनले विभिन्न क्षेत्रबाट खानेपानीको विद्युत महसुल घटाउन मन्त्रालयमा प्रस्ताव आइरहेकाले पनि यसको कार्यान्वयनमा लागेको बताए ।
मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल र पहाडका पानीका मुहान सुक्दै गएको र तराईमा पानीको सहत घट्दै गएकाले खानेपानीको व्यवथापन गर्न निकै गाह्रो भइरहेको समेत बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले कतिपय स्थानमा खानेपानीको स्रोत नहुँदा सबैलाई पुर्याउन नसकिएकाले थप अध्ययन भइरहेको तर स्रोत भएको स्थानमा सरकारको ‘एक घर–एक धारा’ कार्यक्रम प्रभावकारी भएको बताए ।