काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा ३१ जागृति नगरमा बाल उद्यान निर्माण गर्ने भएको छ। बुधवार एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्यानको शिलान्यास गरेका हुन्।
उनले आफूले कार्यभार सम्हालेर निर्णय गरेका कुराहरू सामूहिक धारणामा गरेको दाबी गर्दै उनले भने‚ त्यसकारण हामीले लिएका नीति र कार्यक्रम सबै कार्यान्वयन योग्य छन्।
खुला क्षेत्रको सार्वजनिक उपयोगले सामाजिक सद्भाव बढाउने उल्लेख गर्दै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राजेन्द्र गुरुङले बाल उद्यानसँग खेलका केही पक्ष जोडेर लैजान सके सामाजिक गतिविधि बढ्ने बताए।
बागमती नदी किनारामा रहेको करिब ६ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको लगभग ५ रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुँदैछ। गत भदौ २२ गते निर्माण पक्षसँग महानगरले सम्झौता गरेको थियो। असोज १२ गते कार्यादेश दिइएको योजना यही बर्षको फागुन मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।