काठमाडौ। पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ८ र ११ जोड्ने दोविल्ला पुल पुनर्निर्माण हुने भएको छ । जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने उक्त पुल पुनर्निमाण हुने भएको हो।
उक्त पुल लामो समयदेखि मर्मतको अभावमा निकै जिर्ण बनेको थियो। २०७४ मा प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित नेकपा एमालेका पदम गिरीले पहिलो पाँचवर्षे कार्यकालमा समेत पुलको मर्मतमा चासो नदेखाएको भन्दै पर्वतवासीले सामाजिक सञ्जालमा गिरीको तस्बिरसहित पोस्ट गरेर आलोचना भैरहेका बेला पुलको पुनर्निर्माणका लागि सर्भेक्षण गरिएको छ ।
सडक विभागले लामो दबाबपछि नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो । विभागले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्नेगरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ । कन्सल्टेन्सीले सोमबार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरेको जनाएको छ।
एक साताभित्र सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएपछि लगत्तै पुलको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भएको बताइएको छ। चालु वर्षमै ठेक्का खुलाउने गरी कुरा अघि बढेको छ।
पुरानो पुलको उत्तरतर्फ सँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे प्राविधिकसँग कुराकानी भएको छ। । २०५६ मा ट्रयाक खुलेको दोबिल्ला–फलेबास सडकमा यो अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो ।
सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ । यस्ता पुलमा बिछ्याइएका फलामे पाताको बढीमा ५ वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेको स्थानीयले बताए।