म्याग्दी। करबाकेली इको ट्रेक पर्यटकको रोजाइमा पर्न थालेको छ । चार वर्ष अघि अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीको पहल र सक्रियतामा सञ्चालनमा ल्याइएको करबाकेली इको ट्रेकमा पदयात्रका लागि आउने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो ।
ग्रामीण रहनसहन, जातीय भेष भूषा, कला संस्कृति, जङ्गल सफारी र हिमशृङ्खलाको दृश्यावलोकन पदयात्राका मुख्य आकर्षण हुन । करबाकेलीबाट गुर्जा हिमालदेखि धौलागिरि हुँदै अन्नपूर्ण हिमशृङ्खला सम्मको अवलोकन गर्न पाइने भएकाले घोडे पानी र पुन हिलको भ्रमणमा आएका पर्यटकहरू करबाकेली पुग्ने गर्दछन् । कास्कीको वीरे ठाँटी, तीखेढुंगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुलहीन, फूलबारी,महरेडाँडा हुँदै करबाकेलीथान भएर बेनी बजार निस्कने पदमार्ग करबाकेली इको ट्रेकमा पर्दछ ।
जङ्गल सफारीका लागि यो पदमार्ग आकर्षक छ । प्राकृतिक सुन्दरताको अवलोकनका साथै स्थानीयवासीको न्यानो स्वागतले पदयात्रामा आउने पर्यटकलाई थप आकर्षित बनाउँछ । प्रसिद्ध पर्यटकीय स्थल घोडे पानी र पुन हिलमा पुगेका पर्यटकलाई आकर्षित गर्न स्थानीयहरूले चार बर्सअघि करबाकेली इको ट्रेक सञ्चालनमा ल्याएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। स्थानीयहरूको सक्रियता घोडे पानी, पुन हिलबाट सूर्योदयको अवलोकन गरेपछि फूलबारी र महरेडाँडा हुँदै जङ्गल सफारी गरी करबाकेली आउने पदमार्गलाई व्यवस्थित बनाउने काम भइरहेको करबाकेली इको ट्रेक पर्यटन व्यवस्थापन समितिले बताएको छ।