काठमाडौं। नारायणघाट–बुटवल सडक निर्माणले तिब्रता पाएको छ। एक वर्ष म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले उक्त सडक निर्माणको काममा तिब्रता दिएको हो।
हालसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड कार्यालयले जनाएको छ। म्याद सकिदा १८ प्रतिशत रहेकोमा म्याद थप भएसँगै निर्माण कम्पनीले कामको गति तिब्र रुपमा अघि बढाएको छ। गत साउन २२ गते म्याद सकिएको थियो। आयोजनाको पूर्वी खण्डमा हाल दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेको अयोजनाले बताएको छ।
आयोजनाका अनुसार आयोजनाको पूर्वी खण्डमा पर्ने विद्युत्का पोल पनि सार्ने काम अगाडि बढेको छ । हालसम्म ३० प्रतिशत विद्युत्का पोल सार्ने काम सकिएको हो। पछिल्लो समय १२ वटा ठूला पुलमध्ये १२ मा निर्माणको काम भइरहेको बताइएको छ। २२ साना पुलमध्ये १३ मा काम सकिएको छ भने अन्यमा काम भइरहेको छ। आयोजनाले सडकमा हाल्नुपर्ने माटो, गिट्टी र बालुवा देवचुली र कावासोती नगरपालिका क्षेत्रबाट लिएर पुर्ने कामसमेत सँगसँगै अगाडि बढाएको हो।
आयोजनाका अनुसार यसअघि निर्माण सामग्रीको कमी, कोरोना महामारी, बिजुलीको पोल र खानेपानीको पाइप सार्ने काम नभएको कारण कामलाई तिब्रता दिन नसकिएको हो। हाल सबै समस्याको समाधान भएपछि कामले गति लिएको आयोजनाको भनाई छ। कामले तिब्रता पाएसँगै स्थानीय बासिन्दा पनि खुसि भएका छन्।
गैँडाकोटबाट दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज–१ र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज–२ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ एक सय १३ किलोमिटर छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ। अहिलेकै गतिमा कामले तिब्रता पायो भने चाडै काम सम्पन्न गर्ने अयोजनाले जनाएको छ।
लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । बयालीस महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि विसं २०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७९ साउन २२ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो।