रुकुम पूर्व। निर्माण थालेको ५ वर्ष पुग्दा पनि रुकुम पूर्वको रुकुमकोटस्थित कमल दह छेउमा पाहुनाघरले अझैसम्म पूर्णता पाउन सकेको छैन । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेको हो ।
पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा भवन निर्माण अलपत्र परेको छ । २०७४ असार २० मा सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना दाङको आर्थिक सहयोगमा भवन निर्माण थालिएको हो । गाल्भा क्याराभान जेभीले २ करोड ७५ लाख रुपैयाँमा दुई वर्षभित्र निर्माण सक्ने गरी जिम्मा लिएको आयोजनाका सब–इन्जिनियर सुधीर नेपालीले बताए । कम्पनीले त्यसयता पाँच पटक म्याद थप गरिसकेको छ ।
यस क्षेत्रमा घुमघामका लागि आउने पर्यटक तथा पाहुनाका लागि खान–बस्न सहज होस् भनेर यसको निर्माण थालिएको हो । १० कोठे भवनको हालसम्म ८५ प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधनअनुसार अब एकपटक यसको म्याद थप्न पाउने व्यवस्था भए पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको सब–इन्जिनियर नेपालीले बताए । ‘निर्माणको जिम्मा लिएको कम्पनीलाई छिटो काम सम्पन्न गर्न सार्वजनिक सूचना निकाल्ने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि पनि अटेर गरेमा कालोसूचीमा राखिनेछ ।’ कान्तिपुरबाट