काठमाडौं। भारत सरकारको अनुदान सहयोगमा नेपालमा तीन वटा परियोजनाको निर्माण हुने भएको छ। नेपालको शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा सामुदायिक विकास परियोजना अघि बढाउन भारतले सहयोग गर्ने भएको हो।
यसका लागि नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। भारतीय सहयोगमा अघि बढाइने परियोजनामा उदयपुर जिल्लाको जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण रहेको छन् ।
त्यस्तै, धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको निर्माण रहेको छ । यी तीन परियोजनाहरु कूल अनुमानित लागत १० करोड १७ लाख रूपैयाँ रहेको छ ।
तीन परियोजनाको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।