बझाङ। पहिरोले अवरुद्ध भएको नारुगौडा–जालेबगर सडक मर्मत नहुँदा बझाङबासी समस्यामा परेका छन् । लगातार परेको बर्षाका कारण कात्तिक ३ गतेदेखि अवरुद्ध बझाङ जोड्ने जयपृथ्वी राजमार्गको नारूगौडा–जालेबगर सडक खण्ड पुन: सञ्चालनमा नआउँदा बझाङबासी समस्यामा परेका हुन् ।
सडक अवरुद्ध भएका कारण बझाङमा खाद्यान्नलगायत औषधिको अभाव हुन थालेको छ । वर्षाले जयपृथ्वी राजमार्गको केदारस्यु गाउँपालिका १ नारूगाड र छबिसपाथिभेरा गाउँपालिकाको जालेबगर सडक खण्ड करिब एकसय ५० मिटर बगाउँदा बैतडी भएर बझाङ पुग्ने सडक अबरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि जिल्लामा खाद्यान्न र औषधी लगातयका अतिआवश्यकीय सामाग्री ल्याउन समस्या भएको छ । अस्पतालहरुमा भएका औषधी पनि सकिन थालेपछि जिल्लाभर नै औषधी अभाव हुन थालेको बताइएको छ । भएका खाद्यान्न सामाग्री पनि सकिन थालेपछि चाडपर्वको समयमा पनि आवश्यक खाद्यान्न अभाव भएको जिल्लाबासीको गुनासो छ ।
उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले सडक अवरुद्ध हुँदा बजारमा खाद्यान्नलगायतका सामाग्री अभाव हुनुका साथै कालो बजारी समेत भइरहेको बताए । उनले सडक सुचारु गर्न ढिलाई गरे बझाङ सदरमुकाममा धेरै बस्तुको अभाव भई हाहाकार हुन सक्ने चेतावनी समेत दिएका छन् ।