काठमाडौं। शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको निरीक्षण गरेका छन्। शहरी विकास मन्त्रालय अन्तर्गत संचालित विभिन्न आयोजनाहरुका निरीक्षणको क्रममा मंगलबार मन्त्री चौधरीले धाप ड्यामको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पर्वद्धनमा समेत ठूलो योगदान गर्ने बताएका छन् ।
उनले भने, ‘यस ड्यामको निर्माणले वागमती सफाई गर्ने, वागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ । त्यसका साथै यहाँको पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने देखेँ ।’
एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा ४१ करोड रुपैयाँमा निर्माण भएको उक्त ड्यामको उद्देश्य बागमतीमा पानी पठाएर पानीको बहाब नियमित गर्ने रहेको बताइएको छ।
विशेषगरि सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गइ दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरुका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको थियो।
सन् २०१७ मा सुरु भएको उक्त ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको बताइएको छ ।