हुम्ला। हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोलामा चार वर्षसम्म पनि पक्कीपुल निर्माण नगर्ने कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माणको काम सुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो।
पुल निर्माण कार्य अगाडि नबढाएको र निर्माण स्थल याङ्गार खोलामा निर्माण सामग्रीसमेत पुर्याउन नसकेपछि बाध्य भएर ठेक्का रद्दको प्रक्रियामा लगिएको जनाइएको छ।
आयोजनाले बोलपत्र आह्वान प्रक्रियाबाट कम्पनी छनोट गरेर २०७६ सालमा धुलिखेल निसान जेभीसंग याङ्गार खोलामा मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको थियो।
पटकपटक म्याद थप गरेर निर्माणको काम अघि बढाउन ताकेता गर्दा पनि निर्माण कम्पनीले कामै सुरु नगरेपछि आयोजनाले कारबाही प्रक्रिया अघि बढाएको बताए। आयोजनाले निर्माण कम्पनीसंग पुल निर्माणका लागि चार करोड रुपैयाँको लागतमा सम्झौता गरेको थियो।
कारबाही प्रक्रिया अगाडि बढाउनका लागि कम्पनीले सम्झौतापछि आयोजनाबाट लिएको अग्रिम भुक्तानीबापतको ४१ लाख रुपैयाँ फिर्ता माग्नका लागि पत्राचारसमेत गरिसकेको छ। केही दिनमा ठेक्का रद्दका लागि सूचना पनि जारी गर्ने तयारी गरेको जनाइएको छ।