तस्बिर: गाेरखापत्र अनलाइन
चितवन। चितवनको मेघौली विमानस्थल नजिक बन्दै गरेको अग्लो भवन निर्माणको काम रोक्न दिर्नेशन दिइएको छ। नागरिक उड्डयन कार्यालय भरतपुरले विमान अवतरण गर्ने स्थल नजिकै बनाउँदै गरिएको निजी विद्यालय प्रज्ञा एकेडेमीको भवनको काम रोक्न निर्देशन दिएको हो।
भरतपुरपछि वैकल्पिक विमानस्थलका रूपमा हेरिएको मेघौली विमानस्थलमा अवतरण गर्ने मुख्य क्षेत्रनजिकै विनास्वीकृति ६ तले भवन निर्माण भइरहेको छ। अग्ला भवन बन्दा विमान अवतरणमा समस्या उत्पन्न हुने भन्दै कार्यालयले काम रोक्न निर्देशन दिएको हो।
चार्टर विमान सञ्चालन भइराखेको स्थानमा नागरिक उड्डयन कार्यालयलाई जानकारी नदिई भवन निर्माण भइरहेको र यो कानुन विपरीत रहेको नागरिक उड्यन कार्यालय भरतपुरले जनाएको छ।
विमानस्थलको सिमानाबाट जम्मा सात सय मिटर नजिकै ६ तलाको बन्दै गरेको भवनको ४ तला सम्पन्न भइसकेको छ। नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली आएर भवनको अवस्थाका बारेमा प्रतिवेदन नदिएसम्म भवनको काम रोक्न भरतपुर कार्यालयले निर्देशन दिएको छ। निर्देशनसँगै निर्माण कार्य पनि रोकिएको छ। एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थल कार्यालयलाई महानगरले जानकारी पनि नगराएको विमानस्थल कार्यालयको भनाइ छ।