भरतपुर। चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण सुरु गरिएको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु गरिएको हो।
उक्त तटबनधनको दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार शिलान्यास गरे। सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए।
भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको उल्लेख गर्दै उनले खैरहनीमा यो लगानी दोस्रो भएको जानकारी दिए। उनले तटबन्धका लागि समय धेरै बाँकी नरहेको भन्दै तीव्र गतिमा काम गर्न आग्रह गरे।
नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। समयमै काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो। खैरहनी नगरपालिका–७ र १० को सीमा भएर बग्ने सो खोलामा रु चार करोड पाँच लाख ९८ हजारको लागतमा तटबन्ध निर्माण सुरु भएको हो।
पन्ध्र महिनाभित्र सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएको थियो। कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको छ।