काठमाडौं। कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १३ वटा पक्की पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु खोला, सान्नीघाट खोला र फुगाड खोला पक्की पुल निर्माण हुने भएको हो । बाजुराको जुड्डी खोला, बुढीगाड खोला, गल्फगाड खोला र कवाडी खोला पक्की पुल निर्माण हुने भएको हो ।
हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हिल्सा–सिमकोट सडक आयोजना हुम्लाले जनाएको छ । पक्की पुलका लागि ठेक्का प्रक्रियाअगाडि बढेको सडक आयोजना हुम्लाका इन्जिनियर वीरेन्द्र यादवले बताए । कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
कालीकोटमा पर्ने ४२ किलो मिटर सडक फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको सडक फराकिलो पार्ने काम सुरु भएको हो । सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम सुरु गरेको आयोजना प्रमुख यादवले जानकारी दिए।
कर्णाली करिडोर साघुँरो हुँदा यातायात सञ्चालनमा समस्या भएका कारणले फराकिलो पार्न लागिएको प्रमुख यादवको भनाइ छ । करिडोरअन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा एक अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।