काठमाडौं। कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र नेपालको हुम्ला जिल्लालाई जोड्नेछ । अहिलेसम्म राष्ट्रिय सडक सञ्जाललाई नजोडेको हुम्ला जिल्ला मात्र हैन । यो राजमार्गले हुम्लाको चीनको सिमाना जोडिएको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म पुग्नेछ ।
कर्णाली करिडोर नामाकरण गरी ट्याक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुदैँ हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ ।
आशाको केन्द्र बिन्दुका बीच रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १९६ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्साःहुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीव्र रुपमा भइरहेको छ ।
विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई गत सालको असार ३१ गते हस्तान्तरण गरेको थियो ।
कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये १९६ किलोमिटर सडक निर्माण भएर सवारीसाधन चल्न थालेका छन् । बाँकी सडकखण्ड निमर्णाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए । हिल्सा–हुम्ला सडक आयोजनाले जिम्मा लिएको १४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण भइसकेको छ । कर्णाली करिडोरअन्तर्गतको पाँच किलोमिटर सडक खोलेपछि आयोजनाको काम सम्पन्न हुने बताएको छ ।