काठमाडौं। नेपालले पहिलो पटक बुधबारबाट भारतलाई विद्युत् बेच्न सुरु गरेको छ। यो नेपालको ऊर्जा व्यापारको एउटा कोशेढुंगा हो। यसको दीर्घकालीन महत्त्व रहन्छ। भारतसँग मात्र नभई क्षेत्रीय बजारमा नै ऊर्जा व्यापारको सम्भावना खोजिरहेको नेपालका लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि हो।
हाल प्राधिकरणले आफै महँगो दरमा विद्युत् किनिरहेको बेला भारतलाई बेचेको विद्युत्को मूल्य भने निकै सस्तो देखिएको छ। प्राधिकरणका अनुसार बुधबारका लागि नेपालले औसत प्रतियुनिट ४ रुपैयाँ ३३ पैसामा भारतलाई विद्युत् बेचेको छ।
प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ। हाल प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामको दर अर्थात् ४ रुपैयाँ ८० पैसामा विद्युत् किनिरहेको छ। केहि आयोजनामा भने विदेशी मुद्रा अर्थात् डलरमा समेत पीपीए भएकाले ती आयोजनाबाट उत्पादित विद्युत् अझ यो भन्दा महँगो पर्न जान्छ। प्राधिकरणले अहिले किनिरहेको विद्युत्को मूल्य र बेचिरहेको मूल्यको अन्तर मात्रै प्रतियुनिट ४७ पैसा बराबर देखिन्छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले प्रतिस्पर्धी बजारमा विद्युत्को मूल्य कहिले कम र कहिले बढी हुने बताएका छन्। विद्युत्को मूल्य निर्धारणमा अब माग र आपूर्तिको व्यवस्थापन सँगसँगै प्रतिस्पर्धी बजारले समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ।
इन्डियन एक्सचेन्ज मार्केटमा विद्युत् बेच्नका लागि हरेक १५ मिनेटमा मूल्य तलमाथि हुन्छ। एकैदिनमा पनि हरेक १५ मिनेटको ९६ वटा ब्लकमा फरक–फरक मूल्य तोकिने हुँदा कुनै ब्लकमा सस्तो र कुनैमा महँगो पर्न जाने प्रवक्ता भट्टराईले बताएका हुन। बोलकबोल प्रक्रिया र न्यून मूल्य बोली लगाउने प्रस्तावकले विद्युत् बेच्न पाउने हुँदा सस्तो दरमा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको हो। एक्सचेन्ज बजारमा महँगोमा विद्युत् बेच्न राख्दा बिक्री नै नहुने अवस्थासमेत देखिन सक्छ।