कैलाली। गत असोज ३१ गतेदेखि लगातार परेको बर्षाका कारण कात्तिक ३ गतेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्गको नारूगौडा जालेबगर सडक खण्ड पुनःसन्चासलन हुन नसक्दा बझाङमा खाद्यान्नलगायत औषधिको अभाव हुन थालेको छ। बर्षाले जयपृथ्वी राजमार्गको केदारस्यु गाउँपालिका १ नारूगाड र छबिसपाथिभेरा गाउँपालिकाको जालेबगर सडक खण्ड करिब एकसय ५० मिटर बगाउँदा बैतडी भएर बझाङ पुग्ने सडक अबरुद्ध भएको हो।
केदारस्यु गाउँपालिकाक अध्यक्ष ईन्द्रबहादुर भण्डारीले सडक अबरुद्ध हुँदा निकै सास्ती भएको बताए। उनले सडकनै बाढीले बगाएपछि नयाँ ट्र्याक खोल्ने काम भैरहेको बताउदै चट्टानी पहाडका कारण निकै समस्या भैरहेको पनि बताए। उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले सडक अबरुद्ध हुँदा बजारमा खाद्यान्नलगायतका सामाग्री अभाव हुनुका साथै कालो बजारीसमेत भैरहेको बताए।
उनले सडक सुचारु गर्न ढिलाई गरे बझाङ सदरमुकाममा धेरै बस्तुको अभाव भई हाहाकार हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे। सडक छिटोभन्दा छिटो पुनः सुरु गर्न जिल्ला प्रशासन कार्यालय बझाङलाई ज्ञापनपत्र बुझाएको बताउदै अध्यक्ष सुर्मेलीले प्रदेश सरकारको ध्यान जानुपर्ने बताए।
सडक डिभिजन कार्यालयले जिलेटिन प्रयोग गरेर चट्टान फोड्ने र भत्किएको सडकको माथिल्लो भाग भएर ट्र्याक खोल्ने काम भैरहेको जनाएको छ। बझाङ सडक खण्डका इन्जिनियर बर्ख कठायतले पुरै चट्टान भएका कारण सडको ट्र्याक खोल्न निकै गाह्रो भैरहेको बताए। उनले जिलेटिन प्रयोग गरेर चट्टान फोड्ने काम भैरहेको बताउदै करिब हप्तादिन भित्रमा अस्थायी रुपमा ट्र्याक खोलिने बताए।