काठमाडौं। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो।
सो महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौं महानगरपालिका–१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो। खानी विभाग चोकमा जडान गरेको ट्राफिक बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्याल तथा टुकुचामा जडान गरिएको बत्तीको एसएसपी भट्टराई र काठमाडौं महानगरपालिका–१ का वडा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गरेका छन्। यस कार्यक्रममा एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको बताएका छन्।
ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा रहेको र यसका लागि विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका कुरा उनले बताएका छन्। उक्त कार्यक्रममा एनसेलका सुरक्षा प्रमुख अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी गराएका छन्।