काठमाडौं। जाजरकोटमा निर्माण हुने नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा पुल निर्माण नहुँदा काठको लाप्कोमा यातायातका साधन सञ्चालनमा ल्याइएको छ । नलगाड नदीमा ६ वर्षअघि जिर्माण गर्नुपर्ने पुल अहिलेसम्म निर्माण नगर्दा काठको लाप्को हालेर सवारी साधन सञ्चालन गर्नु परेको हो ।
जाजरकोट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काको निर्माण सेवाले ६ वर्षदेखि पुल निर्माण नगर्दा काठको लाप्को हालेर आजदेखि यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी भीमबहादुर बुढाले बताए ।
नलगाड नगरपालिका –५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको खारामा मोटरेवल पुल निर्माण नगर्दा यस्तो समस्य भएको हो । नलगाड नदीमा पानीको वहाब कम भएपछि मात्र काठको पुल निर्माण गर्न सजिलो भएको निर्माण कार्यमा सक्रिया राजन रावलले बताए ।
यही बाटो भएर भेरी करिडोरसमेत जोडिन्छ । जुम्ला जोडनका लागिसमेत यो सजिलो मार्ग रहेको छ । नलगाड जलविद्युत कम्पनी लिमिटेडका सुनिल पौडेलका अनुसार निर्माण व्यवसायी खड्कालाई पुल निर्माणको लागि ताकेता गरेपनि सुनुवाइ नभएको बताए । वर्षायाममा पुल नहुँदा यो बाटो ठप्प हुने गर्छ । हिउँद याममा काठको लाप्को राखेर नदी पार गराए पनि नदीमा पानीको बहाव बढ्ने बित्तिकै पुल बगाएर लिने र यातायात सेवा ठप्प हुने गर्छ ।