काठमाडौं। म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातबिसे जोड्ने झोलुंगे पुल निर्माण भएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत् उक्त १ सय १० मिटर पुल निर्माण गरेको हो ।
म्याग्दी नदीमा बनेको झोलुंगे पुल निर्माणले करिब एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको छ । निर्माण व्यवसायीले निर्धारित समयमै पुल निर्माणकार्य सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ। २ फागुन २०७८ मा सम्झौता गरेको जुम्ली निर्माण सेवाले सस्पेन्सन प्रविधिको प्रयोग गरी टावर निर्माण गरेर पुल निर्माण गरेको हो । पुल निर्माणमा सामानबाहेक ३७ लाख ३४ हजारमा ठेक्का सम्झौता भएको थियो।
पुल निर्माणको आवश्यक सामग्री भने झोलुंगे पुल शाखाले उपलब्ध गराएको थियो । पुल निर्माण भएपछि म्याग्दी नदीको वारिपारिका बस्तीका नागरिकलाई वारपारमा सहज भएको स्थानीयले बताए। सिमबाट पर्यटकीयस्थल टोड्के र झाँक्रेपानी जोड्ने पदमार्गसमेत रहेकाले पुल निर्माण भएसँंगै पर्यटकलाई समेत आवतजावत गर्न सहज हुने भएको बताइएको छ।