काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएकामा खुसी लागेको बताएका छन्। आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले अब काठमाडौंँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्नेगरी आवश्यक तयारी गरिने बताएका छन् । खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको उनको भनाइ छ ।
त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको र वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको उनले बताए ।
विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए ।
नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उनको पूर्णकदको सालिक निर्माण गरेको हो ।