काठमाडौं। चिनियाँ लगानीमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मस्याङदी जलविद्युत आयोजनाको प्रवर्दक कम्पनी र नेपाल सरकारबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको छ ।
२० प्रतिशत बुटबल पावर कम्पनी (बिपिसी) सहित ३ चीनीयाँ कम्पनीको ८० प्रतिशत लगानी रहेको सो आयोजना अघि बढाउन सरकार र प्रवर्द्धक कम्पनी मनाङ मस्याङदी हाइड्रोपावर कम्पनीबीच हस्ताक्षर भएको हो ।
हालसम्म नेपाल र विदेशी लगानीकर्ता रहेका आयोजनाबीच सात पीडीए भएकामा चीनीयाँ कम्पनीसँगको यो पहिलो हो ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेश घिमिरेको उपस्थितीमा आइतबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सह–सचिव मधु भेटुवाल र कम्पनीका तर्फबाट बिपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठबीच पीडीएमा हस्ताक्षर भएको छ ।
गत जेठ २५ गते कम्पनी र मन्त्रालयबीच प्रारम्भिक समझदारी भएको थियो । १७ नोभेम्बर २०१८ मा उत्पादन अनुमतिपत्र पाईसकेको कम्पनीले नेपाली रुपैयाँमा डेढ बर्ष अघिको चैत्रमा विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ४ वर्षमा आयोजना विकास गर्ने गरि सम्झौता भएको छ।
आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ। बिपीसीले विद्युत विकास विभागबाट २८२ मेगावाटको उत्पादनको लाइसेन्स लिएको छ।